मेची-काली आवाज
Mechi-kali Aawaj
2 Years ago August 12, 2024 Visted:16

विशेष सम्मेलनमार्फत एनआरएनलाई एकताबद्ध गरौँ : खेम शर्मा


गैर आवासीय नेपाली लेखक खेम शर्माले हालै सम्पन्न गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय परिषद्को दशौँ विश्व सम्मेलनमा भएका विवाद र फुटबाट अझै पनि जोगाउन सकिने उपाए भएको बताएका छन् । गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय परिषद्को मानार्थ सदस्यसमेत रहेका उनी उक्त संस्था र आन्दोलनको एकताका पक्षमा काम गरिरहेका युवा पनि हुन् ।

उनले गैर आवासीय नेपाली सङ्घलाई एकताबद्ध राख्न विशेष सम्मेलन बोलाउनुपर्ने धारणा राखेका छन् । साथै उनले नेपालमा गैर आवासीय नेपालीको लगानी अझै बढ्न नसकेको त्यसका लागि राजनीतिक स्थायित्वको अझै जरुरत रहेको बताउँदै हालै अर्थ मन्त्रीले गरेको आह्वानअनुसार सबै नेपालीलाई डलर खाता खोल्न पनि उनले अनुरोध गरेका छन् । प्रस्तुत छ रातोपाटीले उनीसँग गरेको कुराकानी :

–हालै सम्पन्न गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलनको सन्देश के हो ? 

यो सङ्घको दशौँ सम्मेलनले विभिन्न समूहमा विभाजित साथीहरूलाई तीन जना अध्यक्ष, दर्जनौँ कार्यकारी र सयौँ अन्य पदमा व्यवस्थापन गरेको छ । तर यसको सन्देश पक्कै सकारात्मक रूपमा गएको छैन । हामी गैरआवासीय नेपालीले नेपाल र नेपालका नेताहरूलाई उदाहरणीय काम गरेर देखाउनुपर्ने हो । तर त्यस्तो नगरी नेपालका राजनीतिक दलकै सिको गरेर जम्बो पदाधिकारीसहित तीन अध्यक्षात्मक व्यवस्था गर्‍यौँ । त्यो हामी जस्ता हजारौँ गैर आवासीय नेपाली अभियानका एकताबद्ध अभियन्ताहरूले चाहेको बाटो अवश्य थिएन । 

–यो त एउटा समूहभित्रको मात्र व्यवस्थापनको कुरा हो । पूर्वअध्यक्ष शेष घलेकै अगुवाइमा भएको अर्को सम्मेलनले अर्को कमिटी पनि निर्माण गरेको छ, यसलाई कसरी लिनुभएको छ ? 

अघि पनि भनेँ दुवै पक्षलाई मिलाएर कमिटी निर्माण गर्ने अभियानमा मजस्ता धेरै मध्यमार्गी साथीहरू लागेकै थियौँ । हामीले पद लिएनौँ र पद प्राप्तिलाई प्राथमिकतामा पनि राखेनौँ । यो दुई दुईवटा कमिटीको निर्माण, त्यो पनि जम्बो, तीन तीन जनाले अध्यक्षता गर्ने जस्ता विषय वास्तवमै एनआरएनएकै इतिहासमा दुःखद अवस्था हो । यो राम्रो सङ्केत र सन्देश होइन ।